नियम ५४
महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार
: प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो कार्य क्षेत्रभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :—
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरीअन्तर्गत प्रशिक्षण केन्द्र तथा गण, महानगरीय अपराध महाशाखा, प्रहरी परिसर, कारागार र वृत्तहरूको कम्तीमा वर्षको एकपटक र आवश्यकता अनुसार प्रभाग तथा अन्य प्रहरी कार्यालयहरूको
निरीक्षण गरी आवश्यक निर्देशन दिनुका साथै निरीक्षण पुस्तिकामा जनाउने,
(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(ङ) सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने, राख्न लगाउने,
(च) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(छ) शान्ति सुव्यवस्था र सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्तिको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने,
(ज) शान्ति सुव्यवस्था र सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने,
(झ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी, छिटो छरितो गराउने, अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ञ) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने, मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,
(ट) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ठ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने, साथै विपद्को बेला तत्परतासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(ड) ट्राफिक प्रहरीलाई समयानुकूल दक्ष बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा आवश्यक नीति तर्जुमा गरी लागू गर्ने,
(ढ) प्रहरी प्रशिक्षणको गुणस्तर अभिवृद्धि र परिणाममुखी प्रशिक्षणका लागि उचित व्यवस्थापन तथा अनुगमन गर्ने र आवश्यक निर्देशन दिने,
(ण) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(त) महानगर प्रहरीको क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने,
(थ) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,
(द) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग कम्तीमा वर्षमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,
(ध) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने,
(न) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने, प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।